settings icon
share icon
प्रश्न

के मृत्युपछि जीवन पाइन्छ?

उत्तर


मृत्युपछि पनि कुनै जीवन छ भन्ने एक विश्वव्यापी प्रश्न हो। अय्युबले सबैलाई भन्दछन्, “स्त्रीबाट जन्मेको मानिस अल्पायुको र अशान्तिले भरिएको हुन्छ, त्यो फूलझैं फक्रन्छ र ओइलाइहाल्छ। त्यो क्षणिक छायाँजस्तै हराइहाल्छ, रहँदैन। “...के मानिस मरेपछि ऊ फेरि जिउँछ?” (अय्युब १४:१-२, १४)। अय्युबलाई जस्तै हामी सबैजसोलाई यस प्रश्नले चुनौती दिएको हुन सक्छ। वास्तवमा हाम्रो मृत्युपछि के हुनेछ? के हाम्रो जीवन समाप्त हुनेछ? के जीवन एउटा ढोका हो, जसबाट यस संसारमा आफ्नो महानता बढाउनलाई हामी जाने र आउने गर्छौं? के सबै व्यक्तिहरू एकै ठाउँमा जान्छन् वा बेग्लाबेग्लै ठाउँमा जान्छन्? के स्वर्ग र नर्क वास्तविक ठाउँ हो?

बाइबलले हामीलाई भन्दछ कि मृत्युपछि जीवनमात्र नभई अनन्तको जीवन यति भव्यको छ, जुन “...आँखाले नदेखेका र कानले नसुनेका र मानिसले मनमा नसोचेका यी नै कुरा परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूका निम्ति तयार पार्नुभएको छ” (१ कोरिन्थी २:९)। येशू ख्रीष्ट परमेश्वर शरीरमा प्रकट भई संसारमा अनन्त जीवनको उपहार दिन आउनुभयो। “तर ऊ त हाम्रा अपराधहरूका निम्ति छेड़ियो। हाम्रा अधर्मका निम्ति ऊ पेलियो। हामीमा शान्ति ल्याउने दण्ड उसमाथि पर्यो र उसको कोर्राको चोटले हामी निको भयौं” (यसैया ५३:५)।

येशूले हाम्रो पापको निम्ति क्रुसमा बलिदान दिनुभयो। तीन दिनपछि उहाँले चिहानबाट बौरिउठी मृत्युमाथि बिजय साबित गर्नुभयो। स्वर्गको सिहासनमा जानुभन्दा पहिले गवाहीको लागि हजारौँ मानिसका सामु चालीस दिनसम्म रहनुभयो। रोमी ४:२५ ले भन्दछ, “उहाँ हाम्रा अपराधहरूका निम्ति मारिनुभयो र हामीलाई धर्मी तुल्याउनलाई जीवित पारिनुभयो।”

ख्रीष्टको पुनरुत्थान पूर्णरूपमा बिस्तृत वर्णन गरिएको घटना हो। पावल प्रेरितले प्रत्येकलाई त्यस घटनाका दर्शकहरूसँग प्रश्न उठाउन चुनौती दिएका थिए, यस सत्यलाई कसैले पनि विरोध गर्न सकेनन्। ख्रीष्टको पुनरुत्थान विश्वासको मुख्य चट्टान हो किनभने ख्रीष्ट मृत्युबाट बौरिउठ्नुभयो, हामी पनि विश्वास गर्न सक्छौँ कि हामी पनि बौरिउठ्नेछौँ। येशू ख्रीष्टको पुनरुत्थान नै मृत्युपछिको जीवनको प्रमाण हो। येशू ख्रीष्ट एकमात्र पहिलो फसल हुनुहुन्छ, जसको जीवनको पुनरुत्थान फेरि हुनेछ। शारीरिक र आत्मिक मृत्यु एक मानिस आदमबाट आयो। तर सबै जना, जो परमेश्वरको परिवारमा अपनाइएका छन्, विश्वासद्वारा तिनीहरूले ख्रीष्ट येशूमा नयाँ जीवन पाउनेछन् (१ कोरिन्थी १५:२०-२२)। जसरी परमेश्वरले येशूको शरीरलाई बौरिउठाउनुभयो, त्यसरी नै हाम्रो शरीरको पनि येशू फेरि आउँदा पुनरुत्थान हुनेछ (१ कोरिन्थी ६:१४)।

हामी एक दिन पुनरुत्थान भए पनि सबै स्वर्गमा सँगै जान पाउँदैनौँ। यस जीवनमा हरेक व्यक्तिले छनोट गर्नुपर्छ कि अनन्त जीवन बिताउन कहाँ जाने हो। बाइबलले भन्दछ कि हाम्रो मृत्यु एक पटक निश्चित छ र त्यसपछि हाम्रो लेखा लिइनेछ (हिब्रू ९:२७)। जसलाई धर्मी ठहर्याइएको छ, उनीहरु स्वर्ग जान्छन् र अविश्वासीहरू अनन्तको सजायँ भोग्न नर्कमा पठाइनेछन् (मत्ती २५:४६)।

नर्क पनि स्वर्गजस्तो वास्तविक ठाउँ हो। त्यस ठाउँमा अधर्मीहरूले कहिल्यै नसकिने परमेश्वरको क्रोध अनन्तसम्म सहनुपर्नेछ। नर्कलाई अतल कुण्ड भनेर पनि बयान गरिएको छ (लुका ८:३१, प्रकाश ९:१) र दियावलस पनि त्यहाँ हुनेछ, आगो, गन्धकको कुण्ड जहाँ बस्नेहरूले दिन-रात अनन्तसम्म यातना भोग्नेछन् (प्रकाश २०:१०)। नर्कमा सबै रुनेछन् र दाह्रा किट्नेछन् भनेर अति कष्ट र रिसको बारेमा बताइएको छ (मत्ती १३:४२)।

यो यस्तो ठाउँ हो, जहाँ “न किरा मर्दछन् न आगो नै निभ्दछ” (मर्कुस ९:४८)। परमेश्वर अधर्मीको मृत्युको पटक्कै चाहना गर्नुहुन्न, तर उहाँ उनीहरू अधर्मबाट फर्केर आउन् भनी प्रतीक्षा गर्नुहुन्छ, यसरी उनीहरू जिउन सकून् (इजकिएल ३३:११)। तर उहाँले हामीलाई आफ्नो अधीनमा रहन कर गर्नुहुन्न। तर यदि हामीले उहाँलाई त्याग्छौँ भने उहाँले हामीले रोजेको उपाय- परमेश्वरबाट अलग भएको जीवन दिनुहुनेछ।

यहाँ पृथ्वीको जीवन यसपछि आउने समयको तयारीको परीक्षा हो‍। विश्वासीहरूका लागि मृत्युपछिको जीवन अनन्त परमेश्वरसँग स्वर्गमा बिताउनु हो। अविश्वासीको लागि मृत्युपछिको जीवन अनन्त आगोमा बिताउनु हो। हामीले कसरी अनन्त जीवन मृत्युपछि पाउन सक्छौँ र अनन्त आगोमा जानबाट जोगिन सक्छौँ? यसको लागि एकमात्र बाटो छ – येशू ख्रीष्टमा पूर्ण विश्वास र भरोसा गरेर मात्र। येशूले भन्नुभयो, “पुनरुत्थान र जीवन म नै हुँ। मलाई विश्वास गर्ने मर्यो भने पनि जीवित हुनेछ। अनि जिउने र ममाथि विश्वास गर्ने प्रत्येक कहिले मर्नेछैन...” (युहन्ना ११:२५-२६)।

अनन्त जीवनको यो सित्तैको उपहार हो। ”जसले पुत्रमाथि विश्वास गर्छ, त्यससित अनन्त जीवन छ। जसले पुत्रको आज्ञा पालन गर्दैन, त्यसले जीवन देख्नेछैन, तर परमेश्वरको क्रोध त्यसमाथि रहिरहन्छ” (युहन्ना ३:३६)। हामीले मृत्युपछि हाम्रो पापको पश्चात्ताप गर्ने मौका पाउँदैनौँ किनकि हाम्रो अनन्त गन्तव्य हामी संसारमा हुँदै प्रभु येशूलाई पाएर वा त्यागेर निर्धारित गर्छौँ। हेर, ग्रहणयोग्य समय अहिले हो, मुक्तिको दिन अहिले हो (२ कोरिन्थी ६:२)। यदि हामीले येशू ख्रीष्टको मृत्युलाई परमेश्वरले हाम्रो पापको ज्यालाको रूपमा दिनुभएको भनेर ग्रहण गरेमा यस संसारमा अर्थपूर्ण जीवनमात्र नभई हाम्रो अनन्तको जीवन पनि येशू ख्रीष्टको चरणमा बित्नेछ।

के तपाईंले यहाँ लेखिएका कुरा पढेर ख्रीष्टलाई ग्रहण गर्ने निर्णय गर्नुभएको छ? यदि छ भने तल दिएको "मैले आज ख्रीष्टलाई ग्रहण गरेको छु" भन्ने बटनमा क्लिक गर्नुहोस्।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

के मृत्युपछि जीवन पाइन्छ?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries