settings icon
share icon
प्रश्न

सिलास को थिएँ?

उत्तर


सिलास प्रारम्भिक मण्डलीका एक अगुवा, पावलका सहकर्मी प्रचारक, र “विश्वासी भाइ” थिए (१ पत्रुस ५:१२)। उनी एक हेलेनिस्टिक यहूदी थिए र सम्भवतः रोमी नागरिक पनि थिए (प्रेरित १६:३७)। पावलका पत्रहरूमा उनलाई “सिलवानस” भनेर पनि उल्लेख गरिएको छ (जस्तै, १ थिस्सलोनिकी १:१)।

जब हामी पहिलोपटक धर्मशास्त्रमा सिलासलाई भेट्छौँ, तब उनी यरूशलेमको मण्डलीका एक अगुवा र शिक्षक थिए (प्रेरित १५:२२, ३२)। यरूशलेम सभापछि, परिषद्को निर्णय अन्ताकियामा पुर्‍याउन प्रेरित पावलसँगै सिलासलाई पनि छानियो। त्यसको केही समयपछि, पावल आफ्नो दोस्रो प्रचारयात्रामा निस्किए, र उनले सिलासलाई आफ्नो सहयात्रीको रूपमा चुने (प्रेरित १५:४०–४१)।

यस यात्रामा पावल र सिलास ग्रीस पुगे। फिलिप्पीमा ती प्रचारकहरूलाई पक्राउ गरियो, कुटपिट गरियो, र कारागारमा हालियो। तर “मध्यराततिर पावल र सिलास परमेश्वरलाई प्रार्थना गर्दै भजन गाउँदै थिए, र कैदीहरू तिनीहरूको कुरा सुनिरहेका थिए” (प्रेरित १६:२५)। त्यसपछि परमेश्वरले अद्भुत रीतीले तिनीहरूलाई छुटकारा दिनुभयो। तिनीहरूको विश्वास देखेर (जेलर) झ्यालखानाका हाकिमले सोध्यो, “हजुरहरूहो, मुक्ति पाउनलाई मैले के गर्नुपर्छ?” पावल र सिलासले उत्तर दिए, “प्रभु येशू ख्रीष्‍टमाथि विश्‍वास गर्नुहोस्, र तपाईंले मुक्ति पाउनुहुनेछ – तपाईंले र तपाईंको परिवारले।” (पद ३०–३१)। त्यसै रात झ्यालखानाका हाकिमलेले उद्धार पायो, र ऊ तथा उसको सारा परिवारले बप्तिस्मा लिए।

भोलिपल्ट शहरका अधिकारीहरूले पावल र सिलास रोमी नागरिक भएको थाहा पाए, र तिनीहरू अत्यन्त डराए; किनकि अघिल्लो दिन गरिएको दुर्व्यवहारले रोमी व्यवस्था उल्लङ्घन गरेको थियो। त्यसपछि शहरका अगुवाहरूले तुरुन्तै पावल र सिलासलाई बन्दीगृहबाट मुक्त गरे। प्रचारकहरू त्यहाँबाट प्रस्थान गरे, तर तिनीहरूले त्यहाँ विश्वासीहरूको एउटा समूह छोडेर गए—यही नै युरोपको पहिलो मण्डली थियो।

फिलिप्पीको मण्डलीको प्रारम्भले हामीलाई एउटा महान् सम्झना दिलाउँछ कि अत्यन्त कठिन परिस्थितिहरूमा पनि परमेश्वरले महान् कार्यहरू गर्न सक्नुहुन्छ। उहाँले हाम्रा परीक्षा र सङ्कष्टहरूद्वारा समेत आफ्नै नाउँको महिमा गर्नुहुन्छ। पावल र सिलाससँग यही दृष्टिकोण थियो, त्यसैले उनीहरू मध्यरातमा पनि भजन गाउन सक्षम भए।

कैदीहरू पावल र सिलासले गाएका भजनहरू “सुनिरहेका थिए” भन्ने कुरा हल्का रूपमा बेवास्ता गर्न मिल्ने विवरण होइन। येशू ख्रीष्टका अनुयायीहरूको रूपमा, हामीले पनि सम्झनुपर्छ कि मानिसहरूले जीवनका परिस्थितिहरूमा हाम्रो प्रतिक्रिया हेरिरहेका हुन्छन्। यदि पावल र सिलासले आफ्नो अवस्थाको अन्यायबारे गुनासो गरेका, विरोध गरेका, वा कुढिएका भए, जेलर प्रभु येशूमाथि विश्वास गर्न कहिल्यै आकर्षित हुने थिएन। तर तिनीहरूले आफ्नो परिस्थितिमा अनुग्रह र आनन्दसाथ प्रतिक्रिया दिए—तिनीहरूको व्यवहार अरू मानिसहरूले अपेक्षा गरेभन्दा पूर्णतः भिन्न थियो। किनकि तिनीहरू “नून” र “ज्योति” थिए (मत्ती ५:१३–१४), त्यसैले अरूहरूको हृदय सुसमाचारप्रति खुल्यो।

पछि सिलास र तिमोथीले बेरियामा सेवा गरे (प्रेरित १७:१४), र पावलले कोरिन्थ छोडेपछि सिलासले त्यहाँ केही समय थप सेवा गरे। सिलासले पत्रुससँग पनि सेवा गरे; वास्तवमा, १ पत्रुसको पत्र त्यसका प्राप्तकर्ताहरू कहाँ पुर्‍याउने व्यक्ति उनी नै भएको मानिन्छ (१ पत्रुस ५:१२)।

सिलास त्यस्ता व्यक्तिको उत्कृष्ट उदाहरण हुन् जसले आफ्ना वरदानहरू सम्पूर्ण हृदयले प्रभु र अरूहरूको सेवामा प्रयोग गरे। प्रेरितहरूले उनलाई “विश्वासी” भने, र उनी “दाजुभाइहरूलाई उत्साह र दृढता दिने” व्यक्तिको रूपमा चिनिन्थे (प्रेरित १५:३२)। प्रारम्भिक मण्डलीका धेरै मानिसहरू सिलासद्वारा आशिषित भए, र पावल तथा पत्रुस दुवै उनका विश्वासी सहकार्यद्वारा उत्साहित भए। सिलास वास्तवमै “विपत्तिको निम्ति जन्मिएको मित्र” थिए (हितोपदेश १७:१७)।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

सिलास को थिएँ?
यो पृष्ठ साझा गर्नुहोस्: Facebook icon Twitter icon Pinterest icon Email icon
© Copyright Got Questions Ministries